काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीमाथि चार वटा शक्तिले हमला गरिरहेको बताएका छन् ।
एमाले काठमाडौं जिल्ला कमिटीको छैटौं बैठकलाई आज टोखामा सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेले राष्ट्रहित र जनताका सवाललाई सशक्त ढंगले उठाउँदा यस्तो हमला भए पनि उनीहरूको स्वार्थ पूरा हुन नदिन एमालेले सशक्त प्रतिवाद गर्नुपर्ने बताए ।
पोखरेलले एमालेलाई राजावादी, कम्युनिष्ट नामका माओवादी, समाजवादी पपुलिष्ट राजनीति गर्नेहरू र विदेशी शक्तिहरूले हमला गरिरहेको बताए ।
‘एमालेलाई मुख्यगरी अहिले चारवटा शक्तिले साइबर हमला गरिरहेका छन् । मुख्यगरी उनीहरू सामाजिक सञ्जालमार्फत् एमालेलाई कमजोर पार्न खोजिरहेका छन् । राजावादी, माओवादी, समाजवादी पपुलिष्ट र बाह्य शक्ति’ पोखरेलले भने, ‘एमाले कमजोर हुँदा यी सबैको स्वार्थ पूरा हुने भएकोले उनीहरू हामीमाथि खनिएका हुन् ।’
प्रतिक्रिया