काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषा नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति बन्न पुगेको बताएका छन् ।
विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संस्कृत भाषा, साहित्य र संस्कृतिको दक्षिण एशियामै गहिरो प्रभाव पर्दै आइरहेकामा अब यसलाई छिचोलेर विश्वव्यापी बन्न पुगेको बताएका हुन् ।
उनले भने, “कम्प्युटर र एआईको प्रयोगका कारण संस्कृत भाषाको भविष्य सुन्दर देखिन्छ । आजको अशान्त विश्व समाजले संस्कृत वांङमयबाट आशा र भरोसा खोजेको छ ।”
उपनिषदको ‘यो चराचर चेतनाले भरिपूर्ण छ, यसको त्यागपूर्ण भोग गर, धनसम्पति दौलतमाथि आशक्ति र लोभ नगर’ भन्ने संस्कृत श्लोक उद्धरण गर्दै उहाँले संस्कृत सम्मेलनले युद्धको बिभीषिका र सन्त्रासमा अल्झिएको वर्तमान संसारलाई शान्ति, सहयोग र सहअस्तित्वको सन्देश फैलाउँदै धर्ती, मानव र मानव सभ्यताको संरक्षण र विकास, सुख र सन्तोष युद्धबाट होइन शान्ति, करुणा र मैत्रीबाट मात्र सम्भव रहेको सन्देश दिनुपर्ने बताए ।
राष्ट्रपति पौडेलले नेपालले पनि संस्कृतको संरक्षण र विकासका लागि काम गर्दै आइरहेको बताए । “यद्यपि यो त्यो अपर्याप्त छ, र अझ धेरै काम गर्न बाँकी छ, त्यसमा सहकार्य पनि आवश्यक छ ।”
राष्ट्रपति पौडेलले विकास चरम अवस्थामा पुगेपछि एकाधिकारले ठाउँ लिन्छ भन्ने अर्थशास्त्रको कुरा जस्तै संस्कृत भाषाको चरम विकास भएको बेला ठालुहरूले दलित वा अन्य जो कोहीले बोल्न र पढ्न हुन्न भनेर सीमाबद्ध गरेकाले जनबोलीको भाषा हुन नसकेको उल्लेख गर्दै संस्कृतलाई जनबोलीको भाषा बनाउन आवश्यक भएको बताए ।
उनले नेपाल प्राचीनकालदेखि नै ऋषि महर्षिहरूको जन्मभूमि, तपोभूमि, यज्ञभूमि, साधना भूमि रहँदै आएको बताउँदै महर्षि याज्ञवल्क्यले यसै पावन भूमिमा शुक्लयजुर्वेदका मन्त्रहरूको दर्शन पाएको र वाल्मीकिको पूर्वजीवन र वेदव्यासको जन्म पनि यसै भूमिमा भएको बताए ।
राष्ट्रपति पौडेलले राजर्षि जनक, शान्ति सन्देशका नायक बुद्ध, पाणिनि र बाबा गोरक्षनाथ यसै धर्तीका सुगन्ध भएको उल्लेख गरे । उनले भने, “नेपाल एउटा प्राचीन राष्ट्र हो, जसको इतिहास दुई हजार पच्चीस सय वर्षदेखि निरन्तर रहँदै आएको छ । नेपाल शब्दको प्रयोग अथर्ववेदमा नै भएकाले र पौराणिक, तान्त्रिक, स्मृतिग्रन्थ, आयुर्वेद, कौटिल्यको अर्थशास्त्र आदि प्राचीन लाखौँ ग्रन्थहरूमा नेपालका विषयमा अनेक प्रसङ्ग आएकाले यसको प्राचीनता, सनातन वैदिक परम्परा निष्ठता, शान्तिप्रियता, सहिष्णुता, समन्वयमूलकता यस देशको स्वभाव रहँदै आएको बोध हुन्छ ।”


प्रतिक्रिया