परराष्ट्रमन्त्री डा. राणा इटाली प्रस्थान, जर्मनी हुँदै १७ दिनपछि फर्किने

परराष्ट्रमन्त्री डा. राणा इटाली प्रस्थान, जर्मनी हुँदै १७ दिनपछि फर्किने



काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा यही जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि सङ्गठन (एफएओ) सम्मेलनको ४४ औँ सत्रमा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेकी छन् ।

सो सम्मेलनको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई उनले सम्बोधन गर्नेछिन् ।

उनले नेतृत्व गरेकाे नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवम् परराष्ट्र र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरु सहभागी छन् ।

उक्त सम्मेलनपश्चात् परराष्ट्रमन्त्री डा. राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालद्वारा आयोजित कार्यक्रमहरूमा सहभागी हुनेछन् ।

उनलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले बिदाइ गरेका थिए ।

इटालीबाट उनी जर्मनी जाने कार्यक्रम छ । जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालले आयोजना गर्ने लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रममा उनी सहभागी हुेछिन् ।

परराष्ट्रमन्त्री राणाको असार २९ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।