काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’ बहुमतले पारित भएको छ । आजको बैठकमा गृहमन्त्री रमेश लेखकले विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए ।
त्यसअघि आजै गृहमन्त्री लेखकले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गरेका थिए ।
प्रस्ताव पेश गर्दै गृहमन्त्री लेखकले नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानले आमाकै नामबाट नागरिकता पाउने व्यवस्थालाई विधेयकमा प्रत्याभूति गरिएको बताए । वैदेशिक रोजगारमा गएका महिलाहरुले विदेशमा सन्तान जन्माउने तर नेपाल फर्किँदा त्यस्ता सन्तानले नागरिकताविहीन हुनुपर्ने अवस्था नरहने उनको भनाइ छ ।
विधेयकमा ‘नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिए बमोजिम स्वघोषणा गरेमा अङ्गिकृत नेपाली नागरिकता प्राप्त गर्नसक्ने’ व्यवस्था राखिएको छ ।
त्यस्तै, १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एक जना नेपाली नागरिक रहेको नाबालकलाई नाबालक परिचयपत्र दिन सकिने व्यवस्था विधेयकमा राखिएको छ ।
प्रतिक्रिया