पूर्वराष्ट्रपति राजनीतिमा फर्किदा अचम्मित हुन पर्दैन : ईश्वर पोखरेल

पूर्वराष्ट्रपति राजनीतिमा फर्किदा अचम्मित हुन पर्दैन : ईश्वर पोखरेल



काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले राजनीतिमा फर्किने विषयमा अचम्मित हुन नपर्ने बताएका छन् ।

शनिबार मदन भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिक व्यक्ति राजनीतिमा फर्किनु कुनै नौलो विषय नरहेको बताएका हुन् ।

‘पूर्वराष्ट्रपति पोलिटिकल मान्छे हो । त्यसमा रूची राख्नु उहाँको धर्म हो । के जिम्मेवारी लिने भन्ने कुरा सल्लाहमा हुन्छ,’ उनले भने ।

यस विषयमा अध्यक्ष ओलीसहित सबैले सल्लाह गर्ने उनले बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी जीवनको लोकतान्त्रीकरण जबजको अभिछिन्न अंग भएकाले तलमाथि गर्न नसकिने बताएका छन् । शनिबार मदन भण्डारीको जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रममा नेता पोखरेलले पार्टीमा लोकतान्त्रीकरणको चर्चा गर्दै जुनसुकै विद्रोहलाई विधिसम्मत समाधान गर्नुपर्ने पोखरेलले बताए ।

‘२०७८ साल असोजमा विधान महाधिवेशन भयो । त्यो महाधिवेशनमा विधान मात्र होइन, सङ्गठनात्मक प्रस्ताव पारित भयो । राजनीतिक प्रतिवेदन पारित भयो । राजनीतिक प्रतिवेदनको आधारमा सङ्गठनात्मक प्रस्ताव र सङ्गठनात्मक प्रस्तावका आधारमा विधान पारित भयो । यस हिसाबले यी विषयहरू अघि बढेर र पारित भए’, महासचिव पोखरेलले भने, ‘त्यसबेला पारित भएका दस्ताबेजहरू जस्ताको तस्तै सुरक्षित छन् । हामीले पार्टीको लोकतान्त्रीकरणको बारेमा के– के कुरा गर्‍यौँ । कार्यकालका कुरा गर्‍यौ, उमेरका कुरा गर्‍यौ । नियन्त्रण र सन्तुलनका कुराहरू पनि गर्‍यौ र थुप्रै कुराहरू राख्यौँ । त्यो राखेको कुनै झ्वाकमा राखेको होइन, सुविचारित ढङ्गले लामो बहस र छलफलबाट निकालिएका निष्कर्ष हो ।’

उपाध्यक्ष पोखरेलले अहिले पनि विधान महाधिवेशन हुन लागेको भन्दै पार्टीमा लोकतान्त्रीकरणको कुरा गर्दा एमालेमा उमेर र कार्यकालको चर्चा चल्नु स्वाभाविक भएको बताए ।

‘कुरा उठ्छन् छलफल चल्छ । बेलै यही हो त अलिअलि कुरा भइहाल्छ नि’, उनले भने, ‘यदि विधान र नेतृत्व चयनको महाधिवेशन एकैपटक गर्दा छलफल हुँदैन भनेर नै छुट्टै गर्ने व्यवस्था गरिएको हो ।’

उनले देखिएका समस्याहरु समाधान गर्न एमालेले क्षमता राख्ने पनि बताए ।