काठमाडौँ । प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालबीच भनाभन भएको छ ।
आइतबारको बैठकमा उनीहरुबिच भिजिट भिसा प्रकरणलाई लिएर नोकझोक चलेको हो ।
पहिला बोलेका अर्यालले आरोप लगाउन थालेपछि कांग्रेस सांसद खतिवडा बिचमै उठेका थिए । तर सभामुख देवराज घिमिरेले खतिवडालाई रोकेर अर्यालको समय सकिएपछि बोल्न दिए ।
बैठकमा सांसद अर्यालले भने, ‘३३ दिनदेखि भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीविरुद्ध हामी आन्दोलनमा छौँ । संसदीय छानबिन समिति वा उच्च स्तरीय छानबिन समिति माग गरिरहेका छौँ । यस विषयलाई विषयान्तर गर्नेगरी हिजो यही सदनमा निराधार आरोप लगाउने कोसिस गरियो ।’
उनले भने, ‘मेरो कम्पनी मात्र एक जना मान्छे भिजिट भिसामा जापान मात्र होइन संसारको कुनै देश गएको छ । हामीले पैसा लिएका छौँ र फर्केका छैनन् भने प्रमाण पेस गर्न म चुनौती दिन्छु । होइन भने निराधार आरोप संसद्को रेकर्डबाट हट्नुपर्छ । सभामुखज्यूबाट रुलिङको माग गर्दछु । हामी हाम्रो आन्दोलनबाट पछि हट्दैनौँ ।’
त्यसपछि बाेलेका सांसद रामहरि खतिवडाले भने, ‘हामीले कुनै माननीयको नाम किटान गरेर भनेका थिएनौँ । चोरको खुट्टा काट भन्दा खुट्टा झिके जसरी केही माननीयहरू प्रस्तुत हुनुभयो । हामीले कुनै पनि संस्थालाई छानबिन गर्नुपर्छ भन्दा किन ठुलो स्वरले संसद् थर्काइन्छ महोदय ? म अनुरोध गर्न चाहन्छु- कुनै बेला हामी अदालतबाट निर्दोष भएर संसद्मा प्रतिनिधित्व गरेका छौँ । तर आज दोषी भएका मानिसहरू ठुलो स्वरमा कराउँदाखेरि यहाँ आपत्ति छ । हामीले निष्पक्ष छानबिन हुनुपर्छ भनेका थियौँ । छानबिन गरौँ दोषी छ भने कारबाही गरौँ । निर्दोष छ भने हामी उहाँलाई सफाइ दिन चाहन्छौँ । कानुनी रूपमा हिजो पनि आज पनि म्यानपावर कम्पनीलाई दलालमार्फत सुविधा दिने २०९ म्यानपावर कम्पनीलाई अवैध रूपमा सञ्चालनको अनुमति दिने को मान्छे श्रम मन्त्री थियो । त्यो छानबिन गर्न म माग गर्दछु ।’
प्रतिक्रिया