पानी कम पर्दा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन

पानी कम पर्दा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन



पाेखरा । मध्य असारसम्म गण्डकी प्रदेशमा २८ दशमलव २० प्रतिशत रोपाइँ भएको छ । देशभर भने २० प्रतिशत रोपाइँ सकिएको छ ।

गण्डकी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार २६ हजार पाँच सय ६२ हेक्टरमा रोपाइँ भइसकेको छ । सबैभन्दा धेरै बागलुङमा ४५ प्रतिशत, कास्कीमा ४३, म्याग्दीमा ३४, लमजुङमा ३४, नवलपुरमा २९, पर्वतमा २५, तनहुँमा १८, स्याङ्जामा १८ र गोरखामा १० प्रतिशत रोपाइँ भएको हो ।

वर्षा कम हुँदा र पानीका मूल नफुटेका कारण अपेक्षित रूपमा रोपाइँ हुन नसकेको निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले बताए । वर्षाले साथ दिएमा असार अन्त्यसम्ममा धेरैजसाे क्षेत्रको रोपाइँ सकिने छ ।

मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ । यसले पछिल्लो समय धानखेतीको क्षेत्रफल घट्दै गएको देखाउँछ । घरघडेरीका नाममा धानको उब्जाउ क्षेत्र नासिनु, तीव्र शहरीकरणजस्ता कारणले धानखेतीको क्षेत्रफल खुम्चँदै गएको हो ।

क्षेत्रफल घटेपछि सिँचाइ, खेती प्रणालीमा सुधार, रोगकीरा नियन्त्रण, उन्नत बीउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुनसके धानको उत्पादकत्व बढ्ने कृषि अर्थ विज्ञ पौडेलले बताए ।