शिक्षा विधेयकमा सहमति नजुटेपछि शिक्षामन्त्रीले मागे थप समय

शिक्षा विधेयकमा सहमति नजुटेपछि शिक्षामन्त्रीले मागे थप समय



काठमाडौं । विद्यालय शिक्षा विधेयकका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले थप समय माग गरेका छन् । मन्त्री पन्तले शिक्षा समितिबाट विद्यालय शिक्षा विधेयक पारित गर्ने विषयमा आज नै गर्न नहुने बताउँदै थप समय माग गरेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सिंहदरबार पुगेका मन्त्री पन्तले बैठक स्थगित गर्ने प्रस्ताव समिति बैठकमा राखेका हुन् ।

‘महासङ्घसँग छलफल भएको थियो । छलफलका क्रममा समितिमा भएको सहमतिको विषय जानकारी गरायौ । उहाँहरू सहमत हुनुभएन त्यसैले आजको बैठक स्थगित गरौँ,’ मन्त्री पन्तले शिक्षा समिति बैठकबाट भने ।

बिहान साढे ८ बजेका लागि बोलाइएको बैठक विद्यालय शिक्षा विधेयकका केही विषयमा सहमति जुट्न नसक्दा बस्न सकेको थिएन । केहीबेरअघि सुरु भएको बैठकमा मन्त्री पन्तले स्थगित गर्ने प्रस्ताव अघि सारेका हुन् ।

शिक्षा मन्त्रालयले शिक्षकको पदपूर्तिबारे ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने प्रस्ताव गरेकोमा सहमति नभएपछि महासंघका प्रतिनिधि वार्ता छाडेर बाहिरिएका थिए ।

महासंघले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गरिनुपर्ने प्रस्ताव मन्त्रालय समक्ष राखेको छ ।