काठमाडौं । पत्रकार दिलभूषण पाठकविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार उनी विरुद्ध मुद्दा दायर गरेको हो ।
परिवर्तित नाममा साइबर ब्युरोमा परेको उजुरीका आधारमा पाठकविरुद्ध मुद्दा दायर भएको हो ।
साइबर ब्युरो ५९ नाममा परेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैर कानुनी कुरा प्रकाशन गरेको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबीसहित मुद्दा दायर गरेको हो ।
पाठकले आफ्नै युट्युब च्यानलमार्फत नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको हिल्टन होटलमा लगानी रहेको भनी अपुष्ट समाचार प्रसारण गरेका थिए ।
अभियोगपत्रमा उक्त सामग्री प्रकाशन गर्न प्रयोग भएका कम्प्युटर, फ्लपी, कम्प्याक्ट डिस्क, टेप ड्राइभ, सफ्टवेयर वा अन्य उपकरण जफत गर्न माग गरिएको छ ।
यस्तै पीडितलाई उचित क्षतिपूर्ति भराउन पनि अभियोगपत्रमा मागदाबी लिइएको छ ।


प्रतिक्रिया