काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठकमा धन्यवाद दिएका छन् ।
सोमबारदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समिति बैठकमा नेता कोइरालाले सभापति देउवाले पार्टीलाई एक ढिक्का बनाएर लैजान्छु भनेकाेमा धन्यवाद दिएका हुन् ।
उनले भने, ‘सर्वप्रथम म पार्टी सभापतिज्यूलाई धन्यवाद दिन चाहन्छु, किनकी भर्खरै उहाँले पार्टीलाई एक ढिक्का बनाएर लैजान्छु भन्नुभएकोमा । म सुरुदेखि नै पार्टी एक ढिक्का होस् भन्ने व्यक्ति हुँ ।’
नेता कोइरालाले चुनावी गठबन्धनअनुसार सत्तासमीकरण नभएको भन्दै उनले चुनावी गठबन्धन माओवादीसँग गरेर एमालेसँग सरकारमा सामेल हुनुलाई दुर्भाग्य भनेका छन् । उनले भने, ‘गत निर्वाचनमा माओवादीसँग मिलेर गइयो । दुर्गभाग्य माओवादीसँग सरकार बनाइरहन सकिएन । अहिले एमालेसँग मिलेर सरकार बनाउनु परेको छ ।’
त्यस्तै उनले बारा-२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने निर्णय गरेर सभापति शेरबहादुर देउवाले गलत गरेको पनि बताए ।
उनले देउवालाई प्रश्न गरे, ‘बारा-२ उपेन्द्र यादवलाई सहयोग नगरौँ । टिकट नदिऔँ भन्दा सरकार बनाउन सहयोग हुन्छ भनियो । हामी के गर्न खोजिरका छौँ सभापतिजी ?’
त्यस्तै उनले महाधिवेशन समयमै गर्न नसक्नुको कारणबारे पनि जवाफ माग गरे ।
‘कारण के हो? क्रियाशीलको मात्रै हो कि अरु के हो? क्लियर हुनुपर्यो मैले,’ उनले भने, ‘म जिल्लामा जाँदा टाइममै गर्नुपर्छ भनेर साथीहरू भन्नुहुन्छ। नवीकरण पनि हुन्छ, क्रियाशील पनि हुन्छ भन्नुहुन्छ त ।’
प्रतिक्रिया