८४ काे निर्वाचन शेरबहादुर दाइले गर्नुहुन्छ : गृहमन्त्री लेखक

८४ काे निर्वाचन शेरबहादुर दाइले गर्नुहुन्छ : गृहमन्त्री लेखक



डडेल्धुरा । गृहमन्त्री रमेश लेखकले ८४ काे निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाले गराउने बताएका छन् । बुधबार डडेल्धुरामा पार्टी कार्यकर्तासँगकाे भेटघाटमा उनले वर्तमान सत्ता गठबन्धनलाई २०८४ सम्म लिएर जानुपर्ने बताए ।

गृहमन्त्री लेखकले कांग्रेस र एमालेकाे गठबन्धनको विकल्प नभएको भन्दै एक वर्ष पछि पार्टी सभापति देउवा प्रधानमन्त्री बन्ने समेत बताए ।

उनले भने, ‘मैले हिजाे पनि पार्टीकाे केन्द्रीय समिति बैठकमा ८४ सम्म याे गठबन्धनलाई निरन्तरता दिनुपर्छ भनेको छु । सरकार बनेको एक वर्ष हुन थालिसकेको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू हुनुहुन्छ । एक वर्ष पछि हाम्राे पार्टी सभापति आदरणीय नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ । ८४ काे निर्वाचन शेरबहादुर दाइले गर्नुहुन्छ ।’

कांग्रेस र एमालेकाे गठबन्धन मुलुककै आवश्यकता भएको गृहमन्त्री लेखककाे भनाइ छ ।

गृहमन्त्री लेखकले राजनीतिमा षड्यन्त्र हुने गरेको भन्दै पछिल्लो समय आफू पनि राजनीतिक षड्यन्त्रकाे एम्बुसमा परेकाे बताएका छन् ।