काठमाडौं । नारायणगढ–बुटवल सडक विस्तारको काम २०७९ साउनमा सकिनुपर्ने भएपनि अझै अलपत्र छ । ठेकेदार चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसनले तेस्रो पटक म्याद थप गर्दा ६९ प्रतिशत काम मात्रै गरेको छ । काम पूरा नभएपछि चौथो पटक म्याद थपको प्रक्रिया अघि बढाइएको हो ।
नारायणगढ–बुटवल सडकको कूल १ सय १३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो । निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रा.लि. ले अब ५ सय ७६ दिन थप म्याद थपका लागि माग गरेको छ । चौथो पटक म्याद थप्ने तयारी हुँदै गर्दा नारायणगढदेखि दुम्किबाससम्मको खण्डमा एकतर्फी रुपमा ५५ किलोमिटर कालोपत्र सडकमा यात्रा गर्न सकिने आयोजनाको भनाइ छ ।
यस खण्डको चोरमारा बजार, अरुणखोला र दुम्कीबास बजारको केही भागमात्र कालोपत्र गर्न बाँकी छ । नारायगण–बुटवल सडक खण्डअन्तर्गत दुम्कीबासको विनयी खोलामा रहेको पुल भाँचिएपछि डाइभर्सनबाट यातायात सञ्चालन गरिँदै आएको छ । गत पुसमा पुल भाँचिएपछि डाइभर्सनबाट यातायात वारपार गराइँदै आइएको छ । पटक पटक वर्षासँगै आएको बाढीका कारण डाइभर्सन बगाउँदा चालक तथा यात्रुले सास्ती खेप्दै आएका छन् ।
नवलपुर खण्डमा लामो पुल अन्तर्गत पर्ने अरुणखोला र गिरुवारी खोलामा भने बर्खापछि पुल निर्माण हुने भएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कूल १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ । एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ-छ मिटरको सर्भिस लेन हुनेछ ।
प्रतिक्रिया