मेराविरुद्ध नेताहरू हिंसात्मक ढंगले बोले : रामकुमारी झाँक्री

मेराविरुद्ध नेताहरू हिंसात्मक ढंगले बोले : रामकुमारी झाँक्री



काठमाडौं । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफ्नोविरुद्ध पार्टीका नेताहरू हिंसात्मक ढंगले बोलेकाे आराेप लगाएकी छन् ।

उनले आफ्नो अभिव्यक्तिलाई लिएर पार्टीका जिम्मेवार पदाधिकारीहरू मिडिया, सोसल मिडिया र भर्चुअल प्लेटफर्ममा समेत हिंसात्मक ढंगले बोलेको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले अध्यक्ष माधव कुमार नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएका थिइन् ।

त्यसबारे सोधिएको स्पष्टीकरणको पार्टी कार्यालय आलोकनगरमा जारी सचिवालयको बैठकमा जवाफ दिँदै उनले भनेका छन्, ‘यसरी उहाँहरू बोलिरहँदा पार्टी नेता र पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु । पार्टी महासचिवले असार १५ गते निर्देशन जारी भएपछि पछि मैले यो विषयमा कहिँकतै प्रतिक्रिया दिइन ।’

पार्टीको बैठकमा नै यो विषय कुरा राख्ने छु भनेर पनि चुप बस्दा पनि जिम्मेवार सदस्य र पदाधिकारीहरू सुरुदेखि नै मिडियामा आएर निरन्तर बोलिरहेकाे भन्दै गुनासो गरिन् ।

उनीमाथि अनुशासन आयोगले तीन दिने स्पष्टीकरण सोधेको थियो। तर, उनले आफूले औपचारिक स्पष्टीकरणको पत्र नपाएको दाबी गरिन् ।

उनले भनेकी छन्, ‘यो विषयमा मलाई स्पष्टीकरण सोधिएको छ, सोधियो भन्ने जस्ता भ्रामक कुरा बोलिरहनु भएको छ । यो विषयमा मैले स्पष्ट गर्नु पर्ने नै हुन्छ । सार्वजनिक टिप्पणीको स्पष्टीकरण दिने माध्यमा म सार्वजनिक मिडिया बनाउन चाहन्न । कतिपय पदाधिकारीले त अनुशासन आयोगले स्पष्टीकरण सोधिसक्यो पनि भनी सक्नु भएको छ । तर, मलाई यस्तो कुनै लिखित पत्र वा मौखिक प्रश्न वा स्पष्टीकरण कसैले र कुनै कमिटीले पनि सोधेको थाहा छैन ।’