काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले प्रतिनिधिसभा बैठकमा दिएको विवादास्पद अभिव्यक्तिको विषयमा प्रश्न गरिएको छ ।
बिहीबार केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले सांसद तामाङले उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई लक्षित गर्दै आगामी संसदमा देख्न नपरोस् भनेर दिएको अभिव्यक्तिबारे प्रश्न गरेकी हुन् ।
बजेटसम्बन्धी छलफलमा सांसद तामाङले शहरी विकासमन्त्री सिंहले आफ्नो जिल्लामा बजेट नछुट्याएको भन्दै आक्रोश व्यक्त गरेका थिए । ‘प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा अब शहरी विकासमन्त्री र अर्थमन्त्री संसदको आगामी कार्यकालमा देख्न नपरोस् भनेर हाम्रै पार्टीका सांसदले भन्नुभयो । हामी पार्टीको सांसद हौँ कि स्वतन्त्र सांसद हौँ ? हाम्रो पार्टीको अनुशासन र मर्यादा कहाँ गयो ?,’ उनले प्रश्न गरिन् ।
सांसद न्यौपानेले कांग्रेसले कांग्रेसलाई नै ‘चिया पसलमा बसेर जथाभावी गाली’ गरिरहेको भन्दै यस्तो अवस्था आउन नदिने वातावरण निर्माण गर्न सभापति शेरबहादुर देउवा र शीर्ष नेताहरूलाई आग्रह गरिन् । ‘गरेका गल्तीलाई गाली गर्नु त ठीकै हो, नगरेको गल्तीलाई चिया पसलमा बसेर गाली गर्ने काम भइरहेको छ । यस्तो अवस्थाबाट हामी कहाँ पुग्छौँ ?,’ उनले भनिन् ।
प्रतिक्रिया