काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमाले संकटग्रस्त अवस्थामा पुगेकाे दाबी गरेका छन् ।
शुक्रबार काठमाडौंमा विद्यार्थी जिल्ला कमिटीको पाँचौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै एमालेभित्र अन्तरसंघर्ष चर्किरहेको बताए ।
उनले भने, ‘नेपालको राजनीतिमा मूल कम्युनिस्ट पार्टी भनिएको नेकपा एमाले निकै संकटले ग्रस्त भएको छ । अन्तरविरोध बढ्दै गइरहेको छ । अब त्यसको भविष्य के हुने हो ? त्यति सजिलै गरी भन्न सकिने अवस्था छैन । कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्तिको शिकार हुने र दक्षिणपन्थी अवसरवादमा चुर्लुम्म डुब्ने प्रवृत्ति बोकेकाहरूलाई परास्त गर्नुपर्छ ।’
उनले जनचाहना अनुसार काम गर्न नसकेको भन्दै वर्तमान सरकारलाई आफूहरूले साथ दिने कुरा नहुने हुँदा यसको पतन अनिवार्य भएको बताए ।
उनले थपे, ‘सरकारले जनचाहनालाई सम्बोधन गर्न सकेको छैन । त्यसैले यो सरकारले जनताको विश्वास जित्न सक्दैन, कुनै परिणाम दिन पनि सक्दैन । त्यसैले यो सरकार जनविरोधी हो, यो सरकारलाई साथ दिन सकिँदैन । यो सरकारको पतन आवश्यक छ ।’


प्रतिक्रिया