काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीबाट निर्देशन भयो भने राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद छोड्न तयार रहेको बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय समिति बैठकमा संघीय निजामती विधेयक समितिबाट पारित भएको भन्दा फरक प्रावधान सहित ‘कुलिङ अफ पिरियड’ को व्यवस्था पारित भएपछि खतिवडाले पार्टीले निर्देशन दिएमा समिति सभापति पद छोड्न तयार रहेको बताएका हुन् ।
समिति बैठकमा सत्ताको नेतृत्वकर्ता नेकपा एमाले र उनकै पार्टी कांग्रेसका सांसदले समेत खतिवडाको राजीनामा मागेका छन् ।
संसदीय समितिबाट राजीनामा मागिएको विषय उठाउँदै खतिवडाले बैठकमा भने, ‘सभापतिको हैसियतमा मेरो पनि गल्ती छ भनेर पार्टीले बाहिर बस भन्ने निर्देशन दियो भने म बाहिर बस्न तयार छु ।’
बदनाम गर्ने किसिमले संसदीय समितिमा काम नगर्न आग्रह गर्दै उनले समिति गठन गरेर त्यसबाट जुन निर्णय आउँछ त्यसलाई पालन गर्न तयार रहेको बताए ।
खतिवडाले पार्टीमा सभापति, उपभापति, महामन्त्री, केन्द्रीय सदस्यहरूलाई खुइल्याउने कार्य भएको भन्दै चिन्ता व्यक्त गरे । ‘यो पद्धति कहाँसम्म जाने ? हामी यी आरोप प्रत्यारोपमै सीमित भयौं भने जनताले, कार्यकर्ताले के गर्ने ?,’ पार्टी बैठकमा नेताहरूलाई उनले प्रश्न गरे ।
उनले थपे, ‘चाहे बालकृष्ण खाँण होस्, चाहे मोहनबहादुर बस्नेत होस् । चाहे रमेश लेखक होस्, चाहे आरजु देउवा होस । पार्टी पंक्तिका गगन थापा कमजोर भयो भने, अरू को चाहिँ बलियो हुन्छ ?’


प्रतिक्रिया