काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणपछि आज स्वदेश फर्किएका छन्।
संयुक्त राष्ट्रसंघद्वारा आयोजना गरिएको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी गत १४ असारमा स्पेन प्रस्थान गरेका थिए।
सेभिया शहरमा सम्पन्न सम्मेलन र अन्य उच्चस्तरीय भेटघाट सकेर प्रधानमन्त्री ओली कतार एयरवेजमार्फत दोहा हुँदै काठमाडौं फर्किएका हुन्।
उनको टोलीमा २१ जना सहभागी थिए। उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको उनको सचिवालयले जनाएको छ ।
स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो ।
यस्तै स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरे । अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गरे ।
बिहीबारमात्र उनले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशाला भ्रमण गरे । स्पेनमा रहेको नेपाली दूतावासको निरीक्षणका अलावा नेपाली समुदायसँग छलफल गरेका थिए ।
प्रतिक्रिया