राजनीतिमा पनि कुलिङ पिरियड राखौं : गोविन्द भट्टराई

राजनीतिमा पनि कुलिङ पिरियड राखौं : गोविन्द भट्टराई



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कर्मचारीतन्त्रमा मात्र नभई अब राजनीतिमा पनि कुलिङ पिरियड आवश्यक रहेको बताएका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकमा आफ्ना धारणा राख्दै केन्द्रीय सदस्य भट्टराईले नेपालीले नेपाली नागरिकता छोडेर अर्को देशको नागरिक बन्नासाथ नागरिकता त्यागेर फेरि नेपाली नागरिकता लिएर आम निर्वाचन लड्ने प्रवृत्ति देखिन थालेको बताए ।

विगतमा यस्तो व्यवस्था नभएका कारण कुनै विदेशी नागरिक पनि देशको उपप्रधानमन्त्रीजस्तो गरिमामय र संवेदनशील पदमा पुगेको भन्दै उनले भने, ‘यो कटु यथार्थलाई मनन गर्दै कुलिङ पिरियड राख्न जरुरी छ ।’ विदेशी नागरिकता त्यागेको आधिकारिता पुष्टि नहुँदै चुनावमा उम्मेदवार बनेर लड्ने कदमले देशमाथि नै खतरा पैदा गर्ने उनले बताए ।

नेता भट्टराईले अब पार्टीको महाधिवेशन ०८४ अगाडि हुन्छ कि हुँदैन भन्ने द्विविधामा बस्न जरुरी नभएको बताए ।

‘ढिलोमा ०८३ मंसिरभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालि तयार गरौँ । देशका पूर्वराष्ट्रपति र उपराष्ट्रपति फेरि सक्रिय राजनीतिमा फर्किरहेको र कतिपय राजनीतिक दलमा एउटै मानिस वर्षौंसम्म सभापति भइरहने अवस्था कांग्रेसमा छैन,’ उनले भने ।