पर्वत । पर्वत, स्याङजा र गुल्मीको सङ्गम स्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला विगत एक महिना यता डुबानमा परेको छ । मनसुन शुरु भएसँगै कालीगण्डकी नदीको सतह बढेको कारण शालिग्राम शिला डुबानमा पर्नुका साथै आसपासका संरचनासमेत भत्किएर जोखिममा परेको हो ।
शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत विस्थापित बनेका छन् । नियमित पुजापाठ र दर्शन गर्न आउने भक्तजन पनि शालिग्राम शिला दर्शन गर्नबाट बञ्चित बनेका छन् ।
लगातारको वर्षा सँगै जेठ अन्तिम सातादेखि नै शालिग्राम शिला डुबानमा परेको हो । सेतीवेणीमा मिसिने सेतीखोलाको बहाव र कालीगण्डकी उच्च बहावले शिला परिक्रमा स्थलसमेत पूर्णरुपमा क्षतविक्षत बनेको छ । शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबिन जालीसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जान रोक लगाइको छ ।
कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीबेणीबजार डुबानको खतरामा परेको छ । यहाँका स्थानीयबासिन्दा र व्यापारीहरुले डुबानमा पर्ने चिन्ताले त्रसित बनेका छन् ।
प्रतिक्रिया