नेपाललाई पेनाल्टी सुटआउटमा हराउँदै उज्वेकिस्तान एसियन कपमा छनोट

नेपाललाई पेनाल्टी सुटआउटमा हराउँदै उज्वेकिस्तान एसियन कपमा छनोट



काठमाडौं । नेपाललाई पेनाल्टी सुटआउटमा हराउँदै उज्वेकिस्तान एएफसी महिला एसियन कपमा छनोट भएको छ ।

शनिबार उज्वेकिस्तानको तास्केनमा भएको खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै घरेलु टिमले समूह ‘एफ’बाट एसियन कपमा स्थान बनाएको हो ।

पेनाल्टीमा उज्वेकिस्तानका चारै खेलाडीले गोल गरे । नेपालबाट पहिलो प्रहारका निम्ति आएकी सावित्रा भण्डारीको प्रहार नै साइड बारमा लागेर फर्कियो । त्यसपछि गीता राना र सविता रानामगरले गोल गरे ।

गोलकिपर अञ्जना रानामगर चौथो पेनाल्टी प्रहारका निम्ति आइन् । तर, उनको प्रहारलाई उज्वेकिस्तानकी गोलकिपरले विफल बनाइन् । योसँगै पहिलोपल्ट एसियन कप खेल्ने नेपालको सपना समाप्त भयो ।

त्यसअघि, मिली रंगशालामा निर्धारित ९० मिनेटको समय ३–३ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टीबाट गरिएको हो ।

खेलमा नेपालविरुद्ध घरेलु टिमकी डियोराखोन खबिबुल्लाइभाले दोस्रो मिनेटमा नै गोल गर्दै अग्रता दिलाएकी थिइन् । लुडमिला काराचिकले ११औँ मिनेटमा गोल गर्दै घरेलु टिमको अग्रता दोब्बर बनाइएकी थिइन् ।

२४औँ मिनेटमा नेपालकी सावित्रा भण्डारी (साम्बा)ले गोल गर्दै स्कोरलाई २–१ मा ल्याएकी थिइन् ।

तर, ३८औँ मिनेटमा नेपालकी सरस्वती हमालको ह्यान्ड हुँदा उज्वेकिस्तानले पेनाल्टी पाएको थियो । पेनाल्टीमा उज्वेकिस्तानकी मफ्तुना सोयीमोभाले कुनै गल्ती नगरी बललाई जाली चुमाइन् ।

पहिलो हाफको इन्ज्युरी समयमा नोजिमा इर्गासेभाले दोहोरो पहेँलोपछि रातो कार्ड पाएर बाहिरिँदा उज्वेकिस्तान १० खेलाडीमा सीमित बनेको थियो ।

दोस्रो हाफमा दुई गोल थपेपछि नेपाल खेलमा फर्किएको थियो । सावित्राले ७१औँ र ७३औँ मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काएकी थिइन् । त्यसपछि थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

उज्वेकिस्तान अपराजित रहँदै आउँदो वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा छनोट भएको हो ।