ओली र भण्डारीमा कुनै अन्तरविरोध छैन : रघुवीर महासेठ

ओली र भण्डारीमा कुनै अन्तरविरोध छैन : रघुवीर महासेठ



काठमाडौं । नेकपा (एमाले) का सचिव रघुवीर महासेठले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच कुनै अन्तरविरोध नभएको दाबी गरेका छन् ।

आइतबार जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै महासेठले ओली र भण्डारीबीच अन्तरविरोध बढेको भन्दै मिडियाले अनावश्यक हल्ला चलाएको बताए ।

उनले भने, ‘पूर्वराष्ट्रपतिलाई विवादमा ल्याउन खोजिरहेको कुरा राम्रो हैन । मलाई पनि विवाद ल्याउन खोजिएको छ । हामी कुनै पनि कित्तामा नभई पार्टीको कित्तामा छौं । जबसम्म हाम्रो अध्यक्षकै निर्देशअनुसार अघि बढ्छ । महाधिवेशनले गर्ने हो । केपी शर्मा ओलीज्यूलको आउने महाधिवेशनसम्म कुनै विकल्प छैन ।’

भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा चलेको उनले बताए । तर, भण्डारी एमालेमा सक्रिय हुँदा ओलीकै सहमति र प्रस्तावमा आउने उनको तर्क छ ।

महासेठले भने, ‘सक्रिय राजनीतिमा आउँछुमात्र भन्नुभएको छ । तर, कसरी अघि बढ्ने केही कुरा गर्नुभएको छैन । अहिले बजार हल्ला छ अब केपी ओली र विद्या भण्डारीमा अन्तरविरोध बढिरहेको छ । कार्यकर्ताहरू कित्ताकाट गरिरहेका छन् । मिडियामा आइरहेका कित्ताकाटका समाचारबारे कुनै सत्यता छैन । अध्यक्ष र पूर्वराष्ट्रपतिबीच कुनै अन्तरविरोध छैन । यदि उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षकै सहमति र प्रस्तावमा आउनुहुन्छ ।’

संविधानले बन्देज नलगाएकाले राजनीतिमा आउने या नआउने भन्ने विषय भण्डारीको व्यक्तिगत भएको उनको भनाइ छ ।

उनले भने, ‘उहाँ आउन चाहनुहुन्छ भने किन रोक्ने ? पार्टीभित्र अन्तरविरोध बढाउने काम गर्नुभएको छैन । पार्टीका केही एक-दुई जना साथीहरूले अन्तरविरोध बढाउने काम गरिरहेका छन् । त्यो राम्रो हैन ।’