नाउपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन

नाउपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिँदै त्यसको जानकारी सभामुख देवराज घिमिरेलाई दिएको छ ।

आइतबार नाउपा अध्यक्षसमेत रहेकी प्रतिनिधि सभा सांसद रञ्जिता श्रेष्ठले सभामुख घिमिरेलाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी गराएकी हुन् ।

‘हामीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसक्यौं, त्यसको जानकारी सभामुखज्यूलाई भेटेर पनि दिइसकेका छौं,’ श्रेष्ठले भनिन्, ‘हामी अब प्रतिपक्षी बेन्चमा बस्छौं ।’

नाउपाले शनिबार बैठक बसी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

सरकारलाई दिएको समर्थन फिर्तासँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी पनि सरकारबाट फिर्ता हुने भएका छन् ।

आज ५ बजे प्रधानमन्त्री ओलीलाई वालुवाटार पुगेर राजीनामा बुझाउने तयारी भएको अध्‍यक्ष श्रेष्ठले बताइन् ।

नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने भएको छ ।