विद्यालय शिक्षा विधेयक टुंग्याउन ५ दिनको समयसीमा

विद्यालय शिक्षा विधेयक टुंग्याउन ५ दिनको समयसीमा



काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा बाँकी रहेका विषयहरूमा सहमति जुटाउनका लागि पाँच दिनको समय दिएको छ।

आइतबार समितिले विधेयक टुंग्याउने तयारी गरे पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले केही विषयमा सहमति नजुटेको भन्दै बैठक स्थगनको माग गरेका थिए। त्यसपछि केही समय छलफल भएको थियो।

बैठकमा समितिका अधिकांश सदस्यहरूले विधेयक आइतबार पारित गर्न जोड दिएका थिए। तर, शिक्षामन्त्रीले सहमतिका बाँकी विषयमा छलफल गर्न थप समय आवश्यक भएको भन्दै समय मागेका हुन्।

समितिका सभापति अम्मरबहादुर थापाले पाँच दिनभित्र सहमति बनाएर विधेयकको संशोधित मस्यौदा लिएर समितिमा उपस्थित हुन सरकारलाई निर्देशन दिएका छन्। शिक्षामन्त्री पन्तले पनि सहमति जुट्नेबित्तिकै समिति सभापतिलाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।