विद्या भण्डारीलाई भेट्न निवासमै पुगे बालेन

विद्या भण्डारीलाई भेट्न निवासमै पुगे बालेन

समसामयिक राजनीतिक विषयमा १ घण्टा छलफल



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच भेटवार्ता भएको छ । भण्डारीलाई भेट्न बालेन बिहीबार भण्डारीनिवास भंगाल पुगेका थिए ।

एमाले सांसद कृष्णगोपाल श्रेष्ठको समन्वयमा यो भेटवार्ता भएको हो । बालेनलाई श्रेष्ठले नै भण्डारीनिवास लगेका हुन् । भण्डारीनिवासमा बालेनले करिब १ घण्टा बिताएका थिए ।

भेटमा काठमाडौं महानगरपालिकासँग जोडिएका केही विवाद र समसामयिक राजनीतिक विषयबारे पनि कुराकानी भएको थियो । भेटमा बालेनले भण्डारीलाई सरकारले दिएको सेवा–सुविधा फिर्ता गरेकोमा बधाई दिएका थिए ।

पूर्वराष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम ल्याउन नसक्नुको कारणबारे पनि बालेनसँग सोधखोज गरेकी थिइन् ।

काठमाडौं महानगरपालिकामा मेयर बालेन प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यसँग विविध विषयमा एकमत हुन नसक्दा कार्यपालिका बैठक बस्न नसक्दा अहिलेसम्म बजेट ल्याउन पनि सकेको छैन ।

पूर्वराष्ट्रपति भण्डारी १४ असारमा मात्रै एमालेको सक्रिय राजनीतिमा फर्किएकी थिइन् । त्यसयता उनले सार्वजनिक कार्यक्रममा सहभागिता नजनाए पनि राजनीतिक भेटघाटलाई तीव्रता दिएकी छन् ।

बालेनसँग भेट भएको केही समयमै माओवादी केन्द्रका केही शीर्ष नेताहरू पनि भण्डारी निवास पुगेका स्राेतले जानकारी दिएको छ ।