पूर्वराष्ट्रपति राजनीतिमा फर्केको विषयलाई कांग्रेसले नोटिसमा राख्नुपर्छ: विमलेन्द्र निधि

पूर्वराष्ट्रपति राजनीतिमा फर्केको विषयलाई कांग्रेसले नोटिसमा राख्नुपर्छ: विमलेन्द्र निधि



काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पूर्वराष्ट्रपति राजनीतिमा फर्केको विषयलाई पार्टीले नोटिसमा राख्नुपर्ने बताएका छन् ।

पूर्वराष्ट्रपति राजनीतिमा फर्किने विषय पार्टी विशेषको मात्र नभई प्रणालीसँग नै जोडिने पनि निधिले बताए ।

सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै निधिले भने, ‘अहिले एउटा विषय आएको छ सभापतिजी, रिटायर्ड राष्ट्रपतिले राजनीतिमा फर्किने।एमालेका लागि यो आन्तरिक प्रतिस्पर्धामा प्रभाव पर्ने वा नपर्ने विषय होला । तर मेरो बुझाइ के छ भने- यो कुनै एउटा पार्टीको आन्तरिक विषय मात्रै होइन । यो प्रणालीसँग सम्बन्धित विषय हो । हामीले जुन प्रणाली ल्याएका छौं, त्यो प्रणालीमा अहिले राष्ट्रपतिले रिटायर्ड भइसकेपछि हामीलाई त खुसी लाग्छ एमाले विभाजित हुन्छ कि टुक्राटुक्रा हुन्छ कि त्यो फरक विषय हो । तर सिस्टमको बारेमा कांग्रेसले यो नोटिसमा लिनुपर्छ ।’

नेता निधिले पार्टीको १५ औँ महाधिवेशन एकताको महाधिवेशन बनाउनुपर्ने बताएका छन् । सानेपामा बसिरहेको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा नेता निधिले १५ औँ महाधिवेशनलाई एकता महाधिवेशन बनाउनका लागि संवाद हुनुपर्ने बताए ।

‘१५ औँ महाधिवेशनमा एकता गर्नुपर्छ भन्ने कुराको प्रण मैले गरेको छु । यसबारे प्रकाशमानजीसँग बसेर तीनचोटी छलफल गरेर यसलाई अगाडि बढाएका छौँ । र त्यसपछि बढ्दै जाँदाखेरि ११ जना भयौँ, अहिले फेरि ७ जना भयौँ । बलबहादुरजीको प्रस्ताव लिएर गइरहँदा उहाँलाई भनेको थिएँ, तपाईंसँग १५ औँ महाधिवेशनको लागि कुरा गर्न बाटो खुलेको छ है अब । अब साथीहरूसँग आग्रह आउँछ, ११ जना हुँदा १२ जना हुनुहुन्छ, १३ जना हुनुहुन्छ, १४ जना हुनुहुन्छ । एकताको लागि संवाद गर्नुपर्दछ,’ निधिले बैठकमा भने ।

कांग्रेसमा ८४ को चुनावको लागि आफूलाई तयार गर्न जनतामा भरोसा प्राप्त गर्न वैचारिक एकता महत्त्वपूर्ण रहेको बताए । ‘वैचारिक प्रष्टता हुनुपर्‍यो र वैचारिक एकता हुनुपर्‍यो । वैचारिक प्रष्टता नभईकन वैचारिक एकता हुँदैन,’ निधिले भने ।

कांग्रेस विभिन्न किसिमको विचार राख्ने पार्टी भएकाले फरक विचार राख्नेहरूसँग कसरी सहकार्य गर्ने भन्ने निर्क्योल गर्न एकताको आवश्यक रहेको निधिले बताए । एकता प्रक्रियाको थालनी अहिलेबाटै हुनुपर्ने उनको भनाइ छ ।