काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक यादवले मधेश कुनै न कुनै समय नेपालबाट अलग हुने बताएका छन् ।
नेपाल प्रहरीको खोजी सूचीमा रहेका फरार पूर्वसांसद यादवले भिडियो सन्देश सार्वजनिक गर्दै भनेका छन्, ‘मधेश कुनै न कुनै समय अलग हुन्छ । म रहुँ वा नरहुँ ।’
‘जय बिहार, जय नेपाल, जय भारत’ भनेर भिडिओ सन्देश सुरु गरेका यादवले आफूलाई पक्राउ गर्नबाट जोगाउन भारतीय प्रहरी अधिकारीहरुसँग याचना पनि गरेका छन् ।
आफूले भारत र नेपालको निष्ठाको लडाइँ लडिरहेको बताउँदै उनले भनेका छन्, ‘अशोक यादव, श्रीराम र माँ जानकी धरोहर हुन्, त्यसलाई बचाउनका लागि लडिरहेको छु । बिहारका छोरीहरु जसको नेपालमा बिहे हुन्छ, उनको र उनीहरुका बच्चाको नागरिकता बन्दैन, म त्यसको लडाइँ लडिरहेको छु । म सितामढीको एसपीसँग बिहारको पुलिस अधिकारी सबैसँग अनुरोध गर्दछु कि नेपालका एसपीले भनेको आधारमा कुनै पनि कदम नउठाउनु ।’
यादवले भनेका छन्, ‘हामीले धेरै पटक के सोचेका थियौँ कि यो देशबाट मधेस अलग हुनुपर्छ । तर स्वाभिमानका लागि हामी नेपालको, नेपाल मेरो देश हो, म त्यो देशको नागरिक हुँ, त्यो पनि हामी गर्व गर्थ्यौँ । तर यो दमन शोषणले हामीलाई भित्रबाट धेरै ठुलो अब आउने दिनमा विद्रोह हुने सम्भावना छ । हाम्रा सीके राउतजीले बिगुल फुकेका थिए, कि स्वराज मधेस अलग होस् । सही कुरा हो । मधेस आज नभए भोलि अलग हुनेछ । म रहूँ वा नरहूँ । म रहूँ वा नरहूँ, तर मधेसमा आउने जुन सन्तति छ, आउने जुन पुस्ता छ, यो नस्लवादी जुन चिन्तन/मनन गर्ने सोच राख्ने जुन मानिसहरू छन्, त्यसको अन्त्य हुनेछ ।’
उनले नेपालका शासकमा नश्लीय चिन्तन रहेको आरोप लगाएका छन् । मधेशीलाई दोस्रो नागरिकको दर्जा दिइएको भन्दै उनले मधेश अलग हुन आवश्यक रहेको भनेर आफूले पटक-पटक सोंचेको बताए । फरार यादवले आफूलाई मर्नदेखि डर नभएको बताएका छन् ।
यादवले भिडियोमा सर्लाहीका एसपी र डीएसपीले गुण्डागर्दी गरेको आरोप लगाएका छन् । ‘अशोक यादवको परिवारलाई जुन बिहारमा पुलिसवालाहरू‘ प्रशासनले‘ जुन प्रशासन गर्छन्, सीतामढीका एसपीसँग, बिहारका सिनियर पुलिस अधिकारी सबैलाई आग्रह गर्दछु कि यस प्रकारको समस्या नदिनुहोस् । नेपालका एसपीको भनाइमा कुनै पनि कदम नउठाउनुहोस्,’ उनले आग्रह गरेका छन् ।
सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई गालीगलौज गरेको अडियो भाइरल भएपछि यादव फरार भएका छन् । मधेस प्रदेश प्रहरीका प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि यादवको तीव्र रूपमा खोजीकार्य भइरहेको छ । प्रहरी स्रोतका अनुसार यादव भारततर्फ फरार भइसकेका छन् ।


प्रतिक्रिया