करको विरोधमा सुन व्यवसायीको आन्दोलन, चार दिनदेखि मूल्य सार्वजनिक भएन

करको विरोधमा सुन व्यवसायीको आन्दोलन, चार दिनदेखि मूल्य सार्वजनिक भएन



काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटमार्फत सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरामा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गर्दै सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। आन्दोलनका कारण देशभर सुनचाँदीको कारोबार पूर्ण रूपमा रोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले संयुक्त रूपमा विरोधका कार्यक्रम घोषणा गरेका छन्। उनीहरूले आउँदो शुक्रवार (२७ गते) सम्म चरणबद्ध रुपमा आन्दोलन गर्ने जनाएका छन्।

गत बिहीवारपछि नेपाल सुनचाँदी व्यवसायी सङ्घले सुनचाँदीको दैनिक मूल्यसमेत सार्वजनिक गरेको छैन। नेपाली बजारका लागि सुनचाँदीको मूल्य निर्धारण गर्ने जिम्मा यही सङ्घसँग रहेको हुँदा मूल्य नआएकाले कारोबार ठप्प हुन पुगेको हो।

व्यवसायीहरूका अनुसार सरकारको बजेटले आभूषण व्यवसाय धराशायी बनाउने खतरा छ। उनीहरूले कर फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन्।