काठमाडौं । वियान मुल्डर दक्षिण अफ्रिकाका लागि टेस्ट क्रिकेटमा तेहोरो शतक बनाउने दोस्रो खेलाडी बनेका छन् । घरेलु टोली जिम्बावेसँगको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेटको पहिलो पारीमा २७ वर्षीय मुल्डरले यो उपलब्धि हासिल गरेका हुन् ।
यसअघि सन् २०१२ मा इङ्ग्ल्यान्डसँगको खेलमा हाशिम आमलाले नटआउट ३ सय ११ रन बनाएका थिए । मुल्डर दक्षिण अफ्रिकाका लागि सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् । मुल्डर ३ सय ३४ बलमा ३ सय ६७ रनमा नटआउट रहे ।
यस्तै उनी सबैभन्दा कम बलमा तेहोरो शतक बनाउने दोस्रो खेलाडी बनेका छन् । उनले २ सय ९७ बलमा तेहोरो शतक बनाएका हुन् । सबैभन्दा कम बलमा तेहोरो शतक बनाउने भारतका वीरेन्द्र सहवाग हुन् । सहवागले सन् २००८ मा दक्षिण अफ्रिकासँगको खेलमा २ सय ७८ बलमै तेहोरो शतक बनाएका थिए ।
दक्षिण अफ्रिकी अलराउन्डर मुल्डर घरबाहिर सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि बनेका छन् । उनले सन् १९५८ मा वेस्ट इन्डिजसँगको खेलमा पाकिस्तानका हनिफ मोहम्मदले बनाएको ३ सय ३७ रनको कीर्तिमान तोडे ।
वियान मुल्डर टेस्ट क्रिकेटको एक पारीमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको पाँचौं स्थानमा छन् । वेस्ट इन्डिजका ब्रायन लारा नटआउट ४ सय रनसहित शीर्ष स्थानमा छन् । सन् २००४ मा इङ्ग्ल्यान्डसँगको खेलमा लारा यो ऐतिहासिक सफलता हात पारेका थिए । टेस्ट क्रिकेटको एक पारीमा ४ सय रन बनाउने उनीमात्र एक्लो खेलाडी हुन् ।
मुल्डर टेस्ट कप्तानीको डेब्युमा तेहोरो शतक प्रहार गर्ने पहिलाे खेलाडी पनि बनेका छन् । उनी तेहोरो शतक बनाउने सबैभन्दा कान्छो टेस्ट कप्तान बने । यसअघि सन् १९६९ मा न्युजिल्यान्डका ग्राहम डोवलिङले भारतसँगकाे कप्तानी डेब्युमा २ सय ३९ रन बनाएका थिए ।
यसैबीच दक्षिण अफ्रिकाले ५ विकेट गुमाएर ६ सय २६ रन बनाएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको छ । अहिले जिम्बावेले पहिलो पारीको ब्याटिङ थालेको छ ।


प्रतिक्रिया