संविधान संशोधन गर्न कार्यदल गठन गर्ने कांग्रेसको निर्णय

संविधान संशोधन गर्न कार्यदल गठन गर्ने कांग्रेसको निर्णय

स्थिरताका लागि गरिएकाे एमालेसँगको सत्ता सहकार्यमा कुनै समस्या छैन् : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनको विषयलाई सार्थक निष्कर्षमा पुर्‍याउन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

असार १६ गते सुरु भई सोमबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल चलाउने गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रक्रिया अघि बढाइने प्रस्ट पारे । उनले संविधानलाई अझै गतिशील बनाउने गरी संशोधन अघि बढाइने बताए । उनले संविधान संशोधन गर्दा उपराष्ट्रपतिको भूमिका खोजिने बताए ।

उनले भने, “संविधान संशोधनको कुरा उठेको छ । अहिले उपराष्ट्रपतिको भूमिका छैन । उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्षता गर्न सक्ने गरी छलफल अघि गर्न सकिन्छ । यसो गर्दा राम्रो हुन्छ ।”

प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दल एवं अन्य राजनीतिक दल, संविधान निर्माणमा योगदान गरेका विज्ञ, विशेषज्ञ एवं सरोकारवाला नागरिक समाजसँग पनि कार्यदलले संवाद गर्ने छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले सरकारले विकास, सुशासन एवं समुन्नतिका लागि अझै प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको बताए ।

कांग्रेसले विपत्तिको पूर्वतयारीमा जुट्न र उद्धार, राहत र पुनस्र्थापना गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसले निजामती सेवा विधेयकसम्बन्धी प्रतिवेदनमा देखिएका गडबडी र कमीकमजोरीलाई संसदीय प्रक्रियाबाटै समाधान गरी संसद्को गरिमा र विश्वसनीयतालाई कायम राख्नुपर्ने बताउँदै छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरेको छ ।

कांग्रेसले विद्यालय शिक्षा विधेयक टुङ्गोमा पुर्‍याउन सरकार, संसदीय समिति र संसद्को गम्भीर ध्यानाकर्षण गराएको छ ।

सभापति देउवाले नेपाली कांग्रेस पार्टी र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच सत्ता सहकार्य भइरहेको र यसको उद्देश्य राजनीतिक स्थिरता रहेको बताए । उनले एमालेसँगको सत्ता सहकार्यमा कुनै समस्या नरहेको बताए ।

उनले भने, “साना समस्या छलफल गरेरै समाधान गर्न सक्छौँ । मलाई विश्वास छ, यो गठबन्धन पूरा कार्यकाल रहने छ । दुई पार्टीको गठबन्धनमा केही समस्या आएमा ठुलो ठान्नुहुँदैन । हामी समस्या समाधान गरी छाड्छौँ । छलफल गरेर मिलाउँछौँ ।”