एनपीएल हाम्रो राष्ट्रिय गौरव हो, रोकिँदैन : प्रधानमन्त्री ओली

एनपीएल हाम्रो राष्ट्रिय गौरव हो, रोकिँदैन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीतिसँग नजोड्न चेतावनी दिएका छन् ।

बिहीबार ‘नेसनल हाइ पर्फमेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स ल्याब’ उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) का सन्दर्भमा राजनीति भइरहेको भन्दै प्रतियोगिता नरोकिने बताए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान)बीच एनपीएलका सन्दर्भमा विवाद भइरहेकाे छ । ‘अब भव्यताको साथ एनपीएलको तयारी गर्नुस् । त्यो खेलिनुपर्छ । एनपीएल हाम्रो राष्ट्रिय गौरव हो । क्रिकेटप्रतिको आकर्षण झन् बढेको छ । त्यसैले यसलाई राष्ट्रिय स्तरमै अगाडि बढाउनुपर्छ’, प्रधानमन्त्रीले भने, ‘एनपीएल रोकिँदैन । एनपीएल अघि बढाउने कुरामा सबैको ध्यान जाओस् भन्ने म आग्रह गर्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले खेललाई अवरोध नभई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले जसको जे काम हो त्यही गर्नुपर्ने समेत बताए । ‘सरकारमा आएपछि जुन क्षेत्रको काम छ, त्यसको विकास गर्ने हो । कृषि हो भने कृषिको विकास हुनुपर्‍यो, उद्योग हो भने उद्योगको विकास हुनुपर्‍यो । त्यहाँ राजनीति गर्नुभएन,’ ओलीले भने, ‘खेलमा हो भने खेलको विकास गर्नुपर्छ । खेललाई अगाडि लैजानुपर्छ । त्यहाँ पोलिटिक्स गर्ने होइन । पोलिटिक्सका लागि देयर इज नो स्पेस ।’

प्रधानमन्त्री ओलीले कीर्तिपुर रंगशाला सानो भयो भनेर चित्त नदुखाउन क्रिकेट समर्थकहरूलाई आग्रह गरे । उनले भने, ‘कीर्तिपुर रंगशाला सानो भएर आत्तिनुभएन । यो निरन्तर विस्तार हुन्छ । धेरै जनाले हेर्ने बनाउँछौं । अहिलेको त फस्ट फेजको काममात्र हो । दोस्रो फेजमा अझ ठूलो विस्तार हुन्छ । अब यो क्रिकेट मैदानमात्र होइन, रंगशालामा परिणत भएको छ । राति खेल्न मिल्ने हुनेछ । यसलाई अन्तर्राष्ट्रिय स्तरको मैदानको रूपमा विकास गर्दैछौं ।’