काठमाडौं । खेलकुद विकासका लागि पूर्वाधार पहिलो सर्त हो । यही मान्यतालाई आधार मानेर युवा तथा खेलकुद मन्त्रालयले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर तथा नेसनल स्पोर्ट्स साइन्स रिसर्च सेन्टरको निर्माण गरेको छ । यो रिसर्च सेन्टरको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उद्घाटन गरेका हुन् ।
खेलकुदसम्बन्धी अनुसन्धान गर्न यो रिसर्च सेन्टर तयार पारिएको हो । तर नेपालमा खेलकुद अनुसन्धान गर्ने दक्ष्य जनशक्ति अहिलेसम्म राज्यले तयार पारेको छैन् । दक्ष्य जनशक्तिको अभावमा भौतिक पूर्वाधार जति नै भव्य भए पनि उपयोगमा नआउने लामो समयदेखि खेलकुदमा अनुसन्धान गरिरहेका दिवाकरलाल अमात्यले बताए । उनले भने, यो रिसर्च सेन्टरले बाहिर रहेका जनशक्तिलाई काम लगाउँछ, तर पारिश्रमिक दिँदैन ।’ शारीरिक सुगठनको अनुसन्धान गरेको तर आफूले पारिश्रमिक नपाएको गुनासो उनले गरे ।
७ हजार ५ सय ७८ स्क्वायर फिट क्षेत्रफलमा निर्माण गरिएको सेन्टर हलमा १०० जनासम्म खेलाडीले एकैपटक प्रशिक्षण गर्न सक्ने छन् । साथै, ४ हजार ९६ स्क्वायर फिट क्षेत्रफलमा जिम हलसमेत रहेको छ । केन्द्रमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै चेनजिङ रुम, बाथरुम, लकर रुम, अफिस रुम, भण्डारण कक्ष, थेरापी रुम, स्टिम रुम, सुविधा सम्पन्न शौचालय लगायतका पूर्वाधार छन् ।
त्यसैगरी, ट्रेडमिल, इलिप्टिकल, इन्डोर बाइक, स्क्वाट स्टेन्ड, लेग प्रेस, स्मिथ मसिन, फङ्सनल ट्रेनिङ सिस्टम, डम्बेल स्टेन्ड, बारबेल र्याकजस्ता अत्याधुनिक ३० भन्दा बढी जिम उपकरणहरू पनि जडान गरिएका छन् ।
खेलाडीको शारीरिक क्षमता र संरचनाबारे अध्ययन गर्न राखेपले नेसनल स्पोर्ट्स साइन्स रिसर्च सेन्टर स्थापना गरेको हो । आधुनिक प्रविधिको प्रयोग गरी प्रशिक्षण प्रभावकारी बनाउने उद्देश्यले सेन्टर बनाइएको हो ।


प्रतिक्रिया