काठमाडौं । बंगलादेशमा आजदेखि शुरू हुने यू २० साफ महिला च्याम्पियनशिप फुटबलमा आज नेपालले भूटानसँग खेल्दैछ ।
यो खेल बेलुका पौने ७ बजे ढाकाको बसुन्धरा किङ्ग्स एरिनामा शुरू हुनेछ । त्यसअघि दिउँसो सवा ३ बजे उद्घाटन खेलमा आयोजक बङ्गलादेश र श्रीलङ्का खेल्दैछन् । उमेर समूहमा नेपाल र भूटानले दोस्रोपल्ट खेल्न लागेका हुन् ।
दुई वर्षअघि बङ्गलादेशमै भएको प्रतियोगितामा नेपालले भूटानलाई ४–० गोलले हराएको थियो । प्रतियोगितामा नेपाल, बङ्गलादेश भूटान र श्रीलङ्का गरी चार वटा देश सहभागी छन् । डबल राउन्ड–रोबिनको आधारमा हुने प्रतियोगितामा हरेक टोलीले एकअर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । नेपालले दोस्रो खेलमा पर्सि आइतवार बङ्गलादेशसँग, असार ३२ गते र साउन १ गते श्रीलङ्कासँग, साउन ३ गते भूटानसँग, साउन ५ गते बङ्गलादेशसँग खेल्नेछ ।


प्रतिक्रिया