क्लब विश्वकपको फाइनलमा चेल्सी र पिएसजी भिड्दै

क्लब विश्वकपको फाइनलमा चेल्सी र पिएसजी भिड्दै



काठमाडौँ । युरोपका दुइ ठूला क्लब चेल्सी र पेरिस सेन्ट जर्मेन (पिएसजी) बीच आज राति नेपाली समय अनुसार १२:४५ बजे अमेरिकाको , न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा क्लब विश्वकप २०२५ को फाइनल खेल्दै छन्।

पिएसजीले एट्लेटिको म्याड्रिड, बायर्न म्युनिख र रियल म्याड्रिडलाई हराउँदै फाइनल यात्रा तय गरेको हो। यद्यपि समूह चरणमा बोटाफोगोसँग १–० ले पराजित भएका थिए। उनीहरूले यसै वर्ष इन्टर मिलानलाई हराएर च्याम्पियन्स लिग उपाधि पनि जितेका छन्।

चेल्सीले समूह चरणमा फ्लामेङ्गोसँग हार खाएपछि एस्पेरेन्सलाई हराउँदै नकआउट पुगेका थिए। त्यसपछि बेनफिका, पाल्मेरास र फ्लुमिनेन्सेलाई हराउँदै फाइनल यात्रा पूरा गरेका हुन्।

पिएसजीका डेम्बेले यो सिजन ५२ खेलमा ३५ गोल गरेका छन् र बलन डि’ओरका दावेदार मानिन्छन्। उनीसँगै ख्वारात्सखेलिया, डोउ, हाकिमी, र मिडफिल्डका नेभेस, रुइज र भिटिन्हाले टिमलाई बलियो बनाएका छन्।

चेल्सीका लागि मोइसेस कैसेडो चोटमुक्त भएका छन् भने आक्रमणमा जोआओ पेद्रो उत्कृष्ट लयमा छन्। लेभी कोलविल र लियाम डेलाप पनि टिममा फर्किएका छन्।