प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ– टीयूमा बनिरहेको प्यारापिट हेर्न जानुस्

प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ– टीयूमा बनिरहेको प्यारापिट हेर्न जानुस्



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन् ।

सोमबार संसदमा सम्बोधन गर्दै प्रचण्डले ओली सरकारले टीयू मैनानमा फ्लडलाइट र प्यारापिट खोइ भनेर प्रश्न सोधेका थिए । प्रचण्डले संसदमा गरेको भाषणको जवाफ प्रधानमन्त्रीले फेसबुकबाट दिएका हुन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, “पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ? मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ । तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन ।”

प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री प्रचण्डलाई आफु प्रधानमन्त्री हुँदा जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्न पनि सुझाव दिएका छन् ।

उनले भने, “सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु परेन । तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम । मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें । तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु ।”