सरकार साढे ३ खर्ब घाटामा

सरकार साढे ३ खर्ब घाटामा



काठमाडौं। आर्थिक वर्षको अन्तिम साता नजिकिँदै गर्दा सरकारले साढे ३ खर्ब रुपैयाँ घाटामा रहेको देखिएको छ। राजस्व र अनुदानबाट संकलन भएको रकम खर्चको तुलनामा निकै कम रहेकाले सरकारी कोषमा ठूलो घाटा देखिएको हो।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार सोमबारसम्म सरकारले ११ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ बराबरको राजस्व र अनुदान संकलन गरेको छ। यता, सोही अवधिमा सरकारले १५ खर्ब ९ अर्ब २६ करोड रुपैयाँ खर्च गरिसकेको छ।

उक्त घाटा पूर्ति गर्न सरकारले जेठ मसान्तसम्म ४ खर्ब १४ अर्ब रुपैयाँ बराबरको ऋण लिएको छ। तर, त्यही अवधिमा ३ खर्ब २९ अर्ब रुपैयाँ ऋणको साँवा तथा ब्याज तिर्न पनि परेको छ।

कर्जा लिएको समेत गरेर सरकारले जम्मा यस आर्थिक वर्षमा १५ खर्ब ६३ अर्ब रुपैयाँ आर्जन गरेको छ । साँवा ब्याजसहित पुँजीगत खर्च र चालू खर्च गरी कुल १५ खर्ब ९ अर्ब २६ करोड ५६ लाख रुपैयाँ खर्च गरिसकेको छ । सरकारको खातामा अब ५० अर्ब रुपैयाँ हाराहारीमा मात्र रकम बाँकी रहेको छ ।