यू–१६ युथ लिग : एपीएफविरुद्ध संकटाको फराकिलो जित

यू–१६ युथ लिग : एपीएफविरुद्ध संकटाको फराकिलो जित



काठमाडौं । एन्फा यू–१६ युथ लिगमा संकटा क्लबले विभागीय टोली एपीएफविरुद्ध फराकिलो जित निकालेको छ । मंगलबार संकटाले सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा एपीएफविरुद्ध ६–१ को जित निकालेको हो ।

संकटाको जितमा प्रज्वलकुमार लुम्रेले दुई गोल गरे । त्यसैगरी, सुमित बलाम्पकी, पेम्बा तामाङ, आयुश बरम र नवराज तिरुवाले समान एक–एक गोल गरे । संकटाले सबै गोल दोस्रो हाफमा गरेको थियो ।

एपीएफका प्रशिष खनालले एक गोल गरेका थिए । उनले खेलको ४७औँ मिनेटमा गोल गरेका थिए ।

तर, ५२औँ मिनेटमा संकटाका सुमितले बराबरी गोल फर्काए । ६२औँ मिनेटमा प्रजवलले संकटालाई अग्रता दिलाए । ७५औँ मिनेटमा पेम्बाले अग्रतालाई ३–१ को अवस्थामा पुर्‍याए । ८७औँ मिनेटमा आयुशले चौथो गोल गरे । ९०औँ मिनेटमा प्रज्वलले अर्को गोल थपे । इन्जुरी टाइममा नवराजले छैटौँ गोल गरेका थिए ।

जितसँगै लिगमा संकटाले नौ अंक बनाएको छ ।