काठमाडौं । मीना देउवाको ह्याट्रिकसँगै नेपालले साफ महिला यु–२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध फराकिलो जित निकालेको छ ।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार सम्पन्न खेलमा नेपाल ७–० ले विजयी भएको हो । नेपालको जितमा मीनाबाहेक पूर्णिमा राईले २ गोल गरिन् । समीक्षा मगर र सरिता नाथले समान १/१ गोल गरे ।
यो नतिजासँगै अंक तालिकामा दोस्रो स्थानमा रहेको नेपालले ३ खेलबाट ६ अंक पुर्याएको छ । समान खेलबाट बंगलादेशको ९ अंक छ ।
नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले पराजित गरेको थियो । दोस्रो खेलमा भने बंगलादेशसँग पराजित भएको हो । श्रीलंका भने अंकविहीन रहँदै तालिकाको पुछारमा छ ।
खेलको सातौं मिनेटमै नेपालले अग्रता लियो । मीनाले पेनाल्टी बक्सभन्दा निकै बाहिरबाट प्रहार गरेको शक्तिशाली बलले सिधै जाली चुम्यो ।
त्यसको ६ मिनेटपछि नै नेपालले समीक्षाको गोलमा अग्रता दोब्बर बनायो । ४२औं मिनेटमा मीनाले अग्रता ३–० मा पुर्याइन् ।
त्यसपछि नेपालको प्रेसिङलाई श्रीलंकाले रोक्न सकेन र पहिलो हाफको इन्जुरी समयमा थप दुई गोल बेहोर्यो।
दोस्रो मिनेटमा समीक्षाले दिएको लामो क्रसमा पूर्णिमाले उत्कृष्ट रन बनाउँदै गोलमा परिणत गरिन् । लगत्तै समीक्षाले त्यसरी नै निकाल्दिएको बलमा पूर्णिमाले दुरुस्तै गोल निकालिन् ।
छैटौं गोल गर्न भने नेपाललाई २५ मिनेट लाग्यो । ७०औं मिनेटमा समीक्षाको प्रहार श्रीलंकाली डिफेन्डरले बिफल बनाएकी थिइन्। तर, नजिकै रहेकी मीनाले सुन्दर तरिकाले फिनिसिङ गरिन् ।
जारी प्रतियोगितामा मीनाको यो पहिलो ह्याट्रिक हो । यसअघि बंगलादेशविरुद्धको खेलमा सुरुआती ११ मा स्थान बनाएकी उनले १ गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । तर, अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल ३–२ ले पराजित भएको थियो ।
दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सरिताले सेटपीसमा अर्को गोल थपिन् । योसँगै नेपाल ७–० ले विजयी भयो ।


प्रतिक्रिया