जाे रूट बने विश्वकाे नम्बर एक टेस्ट ब्याटर

जाे रूट बने विश्वकाे नम्बर एक टेस्ट ब्याटर



काठमाडौं । इङ्ग्ल्यान्डका जो रूट आईसीसी टेस्ट क्रिकेट वरीयताको ब्याटिङतर्फ शीर्ष स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पछिल्लो वरीयतामा एक स्थान सुधार गर्दै रूट शीर्ष स्थानमा पुगेका हुन् ।

यो वरीयतामा न्युजिल्यान्डका केन विलियमसन एक स्थान सुधार गर्दै दोस्रो र इङ्ग्ल्यान्डकै ह्यारी ब्रूक दुई स्थान तल झर्दै तेस्रो स्थानमा छन् । यस्तै अस्ट्रेलियाका क्यामरन ग्रीन एकै पटक १६ स्थान सुधार गर्दै ३०औं स्थानमा आइपुगेका छन् ।

टेस्ट वरीयताको बलिङतर्फ भारतका जसप्रीत बुमराह शीर्ष, दक्षिण अफ्रिकाका कागिसो रबाडा दोस्रो र अस्ट्रेलियाका कप्तान प्याट कमिन्स तेस्रो स्थानमा यथावत् छन् । यो वरीयतामा वेस्ट इन्डिजका शामर जोसेफ एकै पटक १५ स्थान सुधार गर्दै १४औं स्थानमा आइपुगेका छन् ।

टेस्ट वरीयताको अलराउन्डरतर्फ भारतका रविन्द्र जडेजा शीर्ष, बङ्गलादेशका मेहदी हसन मिराज दोस्रो र दक्षिण अफ्रिकाका वियान मुल्डर तेस्रो स्थानमा यथावत् छन् । यो वरीयतामा इङ्ग्ल्यान्डका ब्रेडन कार्स एकै पटक १४ स्थान सुधार गर्दै २७औं स्थानमा आइपुगेका छन् ।

टेस्ट वरीयतामा अस्ट्रेलिया शीर्ष, दक्षिण अफ्रिका दोस्रो र इङ्ग्ल्यान्ड तेस्रो स्थानमा यथावत् छन् ।