काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकाविरुद्ध ७–० को सहज जित निकालेको छ ।
बिहीबार बंगलादेशको ढाकास्थित बसुन्धरा किंग्स एरिनाको प्रशिक्षण मैदानमा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन समीक्षा मगरले दुई गोल गरिन् । पूर्णिमा राई, कुशुम खतिवडा, सरिता कुमारी र बिर्सना चौधरीले समान एक गोल थपे । यस्तै, नेपालले अर्को एक गोल भने श्रीलंकाका खेलाडीबाट आत्मघाती उपहार पाएको थियो ।
प्रतियोगितामा नेपालको यो तेस्रो जित हो । जितसँगै चार खेलबाट नौ अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा कायमै छ । नेपालभन्दा माथि रहेको बंगलादेशको पनि समान नौ अंक नै छ ।
नेपालले यसअघिका तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा आत्मसात गरेको छ । नेपालले यसअघि पहिलो खेलमा भुटानविरुद्ध ६–१ को जित निकालेको थियो । दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भएको नेपालले तेस्रो खेलमा श्रीलंकाविरुद्ध ७–० को जित निकालेको थियो ।


प्रतिक्रिया