काठमाडौं । नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईले जोर्डनको क्लबबाट व्यावसायिक लिग खेल्ने भएकी छन् ।
उनलाई एएफसी च्याम्पियनसिप लिग २०२५/०२६ को प्रारम्भिक चरणका लागि अल इत्तिहाद क्लबले अनुबन्ध गरेको विभागीय टोली एपिएफ क्लबका एक पदाधिकारीले बताएका हुन् । उनी हालसम्म एपिएफ क्लबमा आबद्ध थिइन् ।
एपिएफ क्लबका मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डेका अनुसार उनले शुक्रबार जोर्डन जान राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट अनुमति लिएकी छन् ।
इत्तिहात क्लबमा पाकिस्तानी फरवार्ड नाइमा बोहानी पनि अनुबन्धित छन् ।
यो क्लबले सन् २०२३ र २०२४ मा लगातार लिग जितेको थियो । यो क्लबले गत वर्षपछि एएफसी महिला च्याम्पियनसिप लिगको प्रारम्भिक चरणका खेल खेलेको थियो ।
यसपटक यो क्लब समूह ‘सी’ छ । यो समूहमा मलेसियाको केलाना युनाइटेड, सिंगापुरको लायन सिटी र किर्गिजस्तानको सड्युशोर एसआई एसियागोल रहेका छन् ।
यो समूहको खेल मलेसियामा हुनेछ । इत्तिहादले पहिलो खेल अगस्ट २५ मा लायनसँग खेल्नेछ ।


प्रतिक्रिया