काठमाडौं । साउदी प्रो–लिगको क्लब अल–नसार पोर्चुगाली फरवार्ड जोआओ फेलिक्सलाई भित्र्याउने नजिक पुगेको छ ।
स्काइ स्पोर्ट्सका अनुसार सम्झौताको अनुमानित मूल्य ४४ मिलियन युरो हाराहारीमा छ। २५ वर्षीय फेलिक्स सन् २०२३ मा लोनमा चेल्सीबाट बार्सिलोना पुगेका थिए । त्यसपछि उनी एट्लेटिको मड्रिडमा पुगे । उनी गत समरमा एट्लेटिकोबाट चेल्सीमा प्रवेश गरेका थिए।
चेल्सीले उनलाई झन्डै ४५ मिलियन युरोमा अनुबन्ध गरेको थियो। तर, उनले लोनकाल होस् या स्थायी अनुबन्ध दुवै अवस्थामा चेल्सीको सुरुआती टोलीमा स्थान बनाउन संघर्ष गर्नुपर्यो ।
पछिल्लो सिजनको दोस्रो भाग फेलिक्सले एसी मिलानमा लोनमा बिताए, जहाँ उनले १९ खेलमा ३ गोल गरे। सो लोनबाट चेल्सीले करिब ५ मिलियन युरो पाएको रिपोर्ट गरिएको छ ।
पुरानो क्लब बेन्फिकाले पनि उनलाई फर्काउने प्रयास गरेको थियो। तर, हाल अल–नसाले उनलाई अनुबन्ध गर्न आक्रामक प्रयास गरिरहेको छ ।
क्लबले हालै क्रिस्टियानो रोनाल्डोको करार नवीकरण गरेको छ र अनुभवी पोर्चुगली प्रशिक्षक जोर्ज जिससलाई नियुक्त गर्दै साउदी प्रो–लिगको उपाधि जित्ने महत्त्वाकांक्षा देखाएको छ ।


प्रतिक्रिया