सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ५ नम्बर वडाध्यक्ष लोकबहादुर शाहीको मृत्यु भएको छ ।
काठमाडौँस्थित वीर अस्पतालमा उपचार गराएर एम्बुलेन्सबाट आफ्नो घर सुर्खेत फर्किने क्रममा आज बिहान भेरीगंगा नगरपालिकाको हर्रे आई पुग्दा बाटोमै वडाध्यक्ष शाहीको मृत्यु भएको हो । पछिल्लो एक वर्षदेखि फोक्सोमा क्यान्सर लागेर पीडित बनेका शाहीलाई निमोनियाले समेत आक्रमण गरेको थियो ।
वीर अस्पतालको आइसियुमै राखेर पनि सन्चो नहुने उपचारमा संलग्न चिकित्सकले बताएपछि घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको ५ नम्बरका कार्यवाहक वडाध्यक्ष वासु आचार्यले बताए । उनले आज बिहान साढे ११ बजेतिर शाहीको मृत्यु भएको जनाए ।
उनका अनुसार भोलि बिहान ९ बजे तिर भेरी सुर्खेत स्थित नदीमा शाहीको दाहसंस्कार गरिने छ । वीरेन्द्रनगर नगरपालिकाले समेत बुधवार शोक बिदा दिने उनको भनाइ छ ।
समाजसेवी शाही नेकपा एमालेबाट २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । विगत १० महिनादेखि बिरामी परेका शाहीको निधनबाट अपूरणीय क्षति पुगेको नेकपा एमाले वीरेन्द्रनगर–५ नम्बर वडाले जनाएको छ ।


प्रतिक्रिया