दक्षिण अफ्रिकासँगको शृङ्खलाका लागि हेड र हेजलवूड अस्ट्रेलियाको टोलीमा फर्किए

दक्षिण अफ्रिकासँगको शृङ्खलाका लागि हेड र हेजलवूड अस्ट्रेलियाको टोलीमा फर्किए



काठमाडौं । दक्षिण अफ्रिकासँगको टी–२० र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि अस्ट्रेलियाको टोली घोषणा भएको छ ।

घरेलु मैदानमा हुने शृङ्खलामा अस्ट्रेलियाका लागि प्रमुख खेलाडीहरू ट्राभिस हेड र जोश हेजलवूडले अन्तर्राष्ट्रिय टोलीमा फर्कने अवसर पाएका छन् । अस्ट्रेलियाले तीन खेलको टी–२० र तीन खेलको एकदिवसीय शृङ्खलाका लागि १४ सदस्यीय टोली घोषणा गरेको हो ।

यसैबीच नियमित एकदिवसीय कप्तान प्याट कमिन्सले दक्षिण अफ्रिकासँगको शृङ्खलाका लागि आराम दिइएको छ । यस्तै मिचेल स्टार्क पनि टोलीमा छैनन् । कमिन्सको अनुपस्थितिमा मिचेल मार्शले दुवै फर्म्याटमा अस्ट्रेलियाली टोलीको नेतृत्व गर्नेछन् ।

अलराउन्डर म्याट शर्ट पनि टोलीमा फर्किएका छन् भने वेस्ट इन्डिजसँगको टी–२० शृङ्खलामा प्रभावशाली प्रदर्शन गरेपछि दुवै टोलीमा अटाएका मिचेल ओवेन एकदिवसीय क्रिकेटमा डेब्यु गर्ने मौकामा छन् ।

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको टी–२० शृङ्खला आउँदो अगस्ट १० देखि र एकदिवसीय शृङ्खला अगस्ट १९ देखि शुरू हुनेछ ।