नेपाली टोली होराको विश्वकप यात्रा : नवौं स्थान र करोडौं पुरस्कार

नेपाली टोली होराको विश्वकप यात्रा : नवौं स्थान र करोडौं पुरस्कार



काठमाडौं । नेपाली गेमिङ टोली होरा ईस्पोर्ट्सले पहिलोपटक सहभागिता जनाएको पब्जी मोबाइल विश्वकप (पीएमडब्ल्यूसी ) मा उत्कृष्ट प्रदर्शन गर्दै नवौं स्थान हासिल गर्न सफल भएको छ। साउदी अरेबियामा सम्पन्न यस विश्वकपमा विश्वका शीर्ष १५ टोलीहरूसँग प्रतिस्पर्धा गर्दै होराले फाइनलको अन्तिम खेलमा चिकेन डिनर जित्दै कुल १०० अंक जोडेको थियो।

समग्र प्रतियोगितामा होराले लिग स्टेज, सर्भाइभल स्टेज, शो म्याच र फाइनल स्टेज गरी जम्मा १ लाख २७ हजार ५०० अमेरिकी डलर पुरस्कार जितेको छ, जुन नेपाली रुपैयाँमा झण्डै १ करोड ७८ लाख ९७ हजार रुपैयाँ बराबर हुन्छ।

विवरण अनुसार, ग्रुप स्टेजमा होराले १३औं स्थान प्राप्त गर्दै २७ हजार ५०० डलर, सर्भाइभल स्टेजमा उत्कृष्ट प्रदर्शन गर्दै २५ हजार डलर, एक शो म्याच जित्दै १५ हजार डलर, र फाइनलमा नवौं स्थान हासिल गर्दै ६० हजार डलर प्राप्त गर्‍यो।

टोलीमा रहेका खेलाडीहरूमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामा रहेका छन्।

प्रतियोगिताको उपाधि भने म्यानमारको वाइजी ईस्पोर्ट्स (याङ्गुन ग्यालेक्टिकोस)ले १५७ अंक र ४ चिकेन डिनरसहित जितेको हो। उसले उपाधिसँगै ५ लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्‍यो। त्यस्तै चीनको वेबो गेमिङ १४२ अंकसहित दोस्रो र मंगोलियाको अल्फा गेमिङ १४१ अंकसहित तेस्रो स्थानमा रहे।

प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर’ (एमभीपी) मंगोलियाका खेलाडी ‘डक’ घोषित भए, जसले ५० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरे।

होरा ईस्पोर्ट्सको यो प्रदर्शनले भविष्यमा अन्य नेपाली इस्पोर्ट्स टोलीहरूलाई पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने प्रेरणा दिने विश्वास गरिएको छ।