काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले पछिल्ला २५ वर्षमा नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा धेरै फड्को मारेको बताएका छन् । धुम्बाराहीमा बुधबार सम्पन्न काठमाडौं जिल्ला क्रिकेट संघको छैटौँ साधारण सभाको अवसरमा खड्काले नेपाली क्रिकेटको सफलता सहज नभए पनि सबैको प्रयासमा सफल भएको बताए ।
उनले अहिले नेपाली क्रिकेट स्थिरताको बाटोमा हिँडिरहेको उल्लेख गरे । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका खड्काले एकदिवसीय मान्यता पाउने क्रममा धेरै चुनौती सामना गर्नुपरेको पनि बताए ।
तर, सबै बिर्सेर ४५ जिल्ला, सात प्रदेश र नेपाली खेलकुदका कार्यकारी निकायले नेपाली क्रिकेटलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ । उनले गर्नुपर्ने काम धेरै रहेको र जसलाई केन्द्रले मात्र गरेर साध्य नहुने बताए ।
जिल्ला र प्रदेश क्रिकेटकै मेरुदण्ड भएको उल्लेख गर्दै खड्काले आर्थिकरूपमा पनि बलियो हुँदै गएको बताए । सचिव खड्काले आगामी दिनमा जिल्ला र प्रदेशले धेरै कार्यक्रम गर्नुपर्ने तथा चुनौती सामना गर्न पनि तयार रहन आग्रह गरे ।
सचिव खड्काले काठमाडौं जिल्ला क्रिकेट, वाग्मती प्रदेश हुँदै केन्द्रमा पुग्न सफल भएको स्मरण गरे । उनले काठमाडौं जिल्ला क्रिकेट संघले ठूलो प्रतियोगिता आयोजना गर्ने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया