साउदीविरुद्ध नेपालको कठिन जित

साउदीविरुद्ध नेपालको कठिन जित



काठमाडौं । निर्धारित समयको अन्तिम मिनेटमा शुक्रिया मियाले निर्णायक गोल गरेपछि एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियाविरुद्ध १–० को कठिन जित निकालेको छ ।

शुक्रबार भुटानको चिङलिमिथाङ रंगशालामा सम्पन्न खेलको ९०औँ मिनेटमा नेपालकी शुक्रियाले निर्णायक गोल गरिन् । मिना देउवा क्रसमा पेनाल्टी बक्सभित्र ‘अनमार्क’ रहेकी शुक्रियाले सहजै गोल गरिन् ।

यो जितसँगै नेपालले आगामी वर्ष थाइल्यान्डमा हुने एएफसी यू–२० एसियन कपमा स्थान बनाउने सम्भावनालाई कायम राखेको छ ।

यसअघि, पहिलो खेलमा पनि नेपाल भुटानसँग १–१ को बराबरीमा रोकिएको थियो । नेपालले अब अगस्ट १० मा उत्तर कोरियासँग खेल्ने तालिका छ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै उत्तर कोरिया, भुटान र साउदी अरेबिया छन् ।