घोडा दौडमा गाउँपालिका अध्यक्ष बिष्ट च्याम्पियन

घोडा दौडमा गाउँपालिका अध्यक्ष बिष्ट च्याम्पियन


ग्लोब नेपाल
0
Shares

मुक्तिनाथ । हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तिर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१,मा अवस्थित मुक्तिनाथ क्षेत्रमा धार्मिक तथा सांस्कृतिक ‘यार्तुङ’ पर्वमा आयोजना गरिएको छ ।

कदम घोडा दौड प्रतियोगिताको उपाधी उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल बिष्टले जितेका हुन् । पछिल्लो समय उफ्रिएर दौडिने कदम घोडा दौड जनशक्तिको अभावले लोप हुन थालेपछि जनप्रिय युवा क्लव पुराङ रानीपौवाले संरक्षण तथा प्रचारप्रसारका लागि सुरू गरेको प्रतियोगितामा बिष्टको ङाङ्पले प्रथम, मनाङका कान्छा गुरुङको घोडा क्याङ्प दोस्रो र मनाङकै खुशी गुरुङको घोडा स्हाक्पले तेस्रो भएको छ ।

प्रथम, द्वितिय र तृतिय हुने प्रतियोगिले क्रमश १ लाख ५० हजार, ८० हजार र ५० हजार रुपियाँ नगद र ट्रफी जितेका छन् । धेरै वर्षसम्म बन्द भएको कदम घोडा अघिल्लो वर्ष टंकी मनाङबाट सहभागी भुजुङ गुरुङको साक्पा घोडा प्रथम भएको थियो । प्रतियोगितामा घोडाको सिंगार, जातीय मौलिकता,घोडाको कुद्ने शैलीको आधारमा मुल्याङ्कन गरी विजेता छनौट गर्ने गरिन्छ ।

कदम र लामो दूरीको साहसिक घोडा दौड प्रतियोगिताकै आर्कषक मानिन्छ । प्रतियोगिताका बिजेतालाई मुस्ताङका प्रतिनिधिसभा सदस्य योगेश गौचनले सम्मान गदैं एतिहासिक, धार्मिक पर्वहरू मुस्ताङको पहिचना भएको बताएका थिए । प्रतिनिधिसभा सदस्य गौचनले मुस्ताङको सांस्कृतिक पर्व पुर्खाले दिएको सुन्दर उपहार भएको बताए ।

गौचनले भने, “घोडा घरायसी काम र मान्छेलाई बोक्ने साधन मात्रै नभई सांस्कृतिक पर्वको आर्कषक समेत हो, यूवापुस्ताले पुर्खाले दिएको उपहारलाई संरक्षण नै अहिलेको आवश्यकता हो ।” घोडालाई शक्ति र दृढताको प्रतीक भएकाले प्रतियोगिताले समुदायको समेत आत्मबल, उर्जा, र कठिन परिस्थितिहरूसँग लड्ने क्षमतालाई बलियो बनाउने भएकाले प्रतियोगिताको अवलोकन गर्न मुस्ताङका विभिन्न क्षेत्रबाट स्थानीय समेत पुग्ने गरेका छन्।

आफ्नो संस्कार धान्नको लागि मात्रै मनाउने गरिएको यार्तुङ पर्व पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा समेत सघाइरहेको जनप्रिय युवा क्लवपुराङ रानीपौवाका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले बताए । अध्यक्ष गुरूङले भने, “युवा जनशक्ति पलायन भए पनि यार्तुङ पर्वको महत्व अझै घटेको छैन, हामीले हरेक बर्ष यसलाई निरन्तरता दिने गरेका छौं ।”

अध्यक्ष गुरूङका अनुसार पर्वको अवसरमा घोडा दौड, तारा खेल्ने, फुटबल प्रतियोगिता, कार्यक्रम, मौलिक भेषभुषाको पहिरनमा सजिएर सांस्कृतिक कार्यक्रम सहित विविध कार्यक्रम गर्ने गरिएको छ ।