चितवन । भरतपुर १ देवद्वार देवघाटधामा रहेको बागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ आश्रमको अध्यक्षमा सामाजिक तथा धार्मिक व्यक्तित्व अशोक पोखरेल सर्वसम्मत चयन भएका छन् । परिषद्को शुक्रबार सम्पन्न ३०औं साधारणसभा तथा ८औं अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका हुन् ।
यसैगरी प्रथम उपाध्यक्षमा रामप्रसाद वस्ती, द्वितीय उपाध्यक्षमा शुकमाया भुजेल, महासचिवमा दुर्गाप्रसाद भण्डारी, सचिवमा कृष्णबहादुर के.सी., सहसचिवमा मित्रराज केसी, कोषाध्यक्षमा रिना कोइराला, सह–कोषाध्यक्षमा दुर्गादेवी अधिकारी र सदस्यहरूमा प्रेमकुमारी तामाङ, वद्री तिमिल्सिना, दयामूर्ति पोखरेल, षडानन्द लामिछाने, महेन्द्र कार्की, कैलाश कोइराला, ज्ञानेन्द्रमान शाक्य, ऋषिकेश अर्याल, विनु पौडेल रायमाझी, सिर्जना अर्याल, गिता श्रेष्ठ, पदमकुमार श्रेष्ठ, राजेन्द्र कुमार पिया र रुपा पिया निर्विरोध चयन भए ।
अधिवेशनको उद्घाटन सत्र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यतामा र आश्रमका अध्यक्ष शैलेन्द्र कुमार पियाको अध्यक्षतामा सम्पन्न भयो । उद्घाटन समारोहमा वाग्मती प्रदेशका पूर्वमन्त्री कृष्ण प्रसाद सिलवाल, पूर्वमन्त्री केशव कुमार श्रेष्ठ, प्रमुख संरक्षक योगी श्रीषनाथ, संरक्षक योगी वलभद्रनाथ लगायतले शुभकामना मन्तव्य दिए ।
समारोहमा प्रमुख अतिथि दाहालले महानगरले पर्यटन प्रवर्द्धनमा लागेको बताउँदै धार्मिक पर्यटन प्रवर्द्धनका लागि वागीश्वरी धामको संरक्षण जरुरी रहेको उल्लेख गरिन् । उनले आश्रमको संरक्षणका लागि महानगरले सहयोग गरिरहेको र गर्ने प्रतिबद्धता जनाइन् ।
गैडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले राष्ट्रगुरु योगी नरहरिनाथको सामाजिक रूपान्तरणमा योगदान स्मरण गर्दै यस्ता धार्मिक तथा आध्यात्मिक व्यक्तित्वको तपोभूमिमा राजनीति नगर्न सुझाव दिए । नेपाली कांग्रेसका युवा नेता तथा धार्मिक व्यक्तित्व कैलाश कोइरालाले पञ्चभाषा विश्वविद्यालयको स्थापनाले मात्र राष्ट्रगुरुप्रति सच्चा सम्मान हुने सुझाव दिँदै राष्ट्रगुरु योगी नरहरिनाथ र विशेष्वर प्रसाद कोइरालाबीच फुट ल्याउने व्यक्ति तथा विचार नेपाल राष्ट्रका लागि घातक हुने बताए ।
नेकपा माओवादी चितवनका नेता तथा सामाजिक–धार्मिक व्यक्तित्व वद्रि प्रसाद तिमिसिनाले आश्रममा संरक्षित गौ, सञ्चालित गुरुकुल, प्राकृतिक उपचार केन्द्रलगायतमा ध्यान दिनुपर्ने बताए । उनले राष्ट्रगुरु योगी नरहरिनाथलाई जीवन्त राख्न उनका अभियानको निरन्तरता, पुस्तकहरूको अध्ययन र यस्ता महत्वपूर्ण स्थलहरूको संरक्षणमा लाग्नुपर्ने धारणा राखे ।
कार्यक्रममा भरतपुर–२ का वडा अध्यक्ष मनोज रानाभाट, आश्रमका संरक्षकहरू योगी सल्याननाथ, योगी नागकन्या, संरक्षक शान्तप्रसाद पोखरेल, वृहत आध्यात्मिक परिषद्का उपाध्यक्ष योगी व्याघ्रवेदनाथ, आश्रमका प्रतिनिधि योगी निरञ्जननाथलगायत चितवन तथा नवलपुरका धार्मिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण आश्रमका सदस्य तथा शिद्धीदात्री दुर्गा मन्दिर पितौजी नवलपुरका मठाधीश योगी खेचरनाथले गरे ।
आश्रमका कानुनी सल्लाहकार तथा अधिवेशनका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठले आश्रमका निर्वतमान अध्यक्ष शैलन्द्र कुमार पियालाई संरक्षक मण्डलमार्फत स्थायी संरक्षकमा हिजो नै मनोनीत गरिएको जानकारी दिए ।
वह्मलिन गुरु राष्ट्रगुरु योगी नरहरिनाथले स्थानीय जातका गौहरूको संरक्षण, गुरुकुल शिक्षाको निरन्तरता तथा प्राकृतिक जीवनशैली अपनाउने अभियान जनस्तरसम्म पुर्याउन यस आश्रमको स्थापना गरेका थिए । यस आश्रममा हाल गौ संरक्षण केन्द्र, समावेशी गुरुकुल, प्राकृतिक उपचार केन्द्र, धार्मिक वनलगायतका परियोजना रहेका छन् ।


प्रतिक्रिया