औरही– १ का वडाध्यक्ष चौधरीको निधन

औरही– १ का वडाध्यक्ष चौधरीको निधन



महोत्तरी । महोत्तरीको औरही नगरपालिकामा आज सार्वजनिक बिदा दिएको छ । औरही नगरपालिका वडा नं. १ का वडाध्यक्ष योगी चौधरीको शनिबार भएको निधनप्रति शोक व्यक्त गर्दै नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हो ।

नगरप्रमुख प्रदीपकुमार खड्काले शोक विज्ञप्ति जारी गर्दै वडाध्यक्ष चौधरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले पालिकाले एक होनहार, इमानदार र सच्चा जनप्रतिनिधि गुमाएकोमा स्तब्ध भएको उल्लेख गरेका छन् ।

वडाध्यक्ष चौधरीको निधनमा आज नगरपालिका भित्रका सबै कार्यालयहरू, नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, शैक्षिक संस्था तथा स्वास्थ्य संस्था (आकस्मिक सेवाबाहेक)का सबै सेवा बन्द रहने जारी विज्ञप्तिमा उल्लेख छ ।

६५ वर्षीय चौधरी लोसपा पार्टीबाट स्थानीय तह निर्वाचन– २०७९ मा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । मृतक चौधरीको शनिबार नै दाहसंस्कार गरिएको छ ।