नेपालकाे पाेस्टमा उत्तर कोरियाकाे ११ गाेल

नेपालकाे पाेस्टमा उत्तर कोरियाकाे ११ गाेल



काठमाडौं । समूह चरणको आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग ११–० को हार बेहोर्दै नेपालले एएफसी यू–२० एसियन कप छनोट टुंग्याएको छ । आइतबार भुटानमा सम्पन्न खेलको पहिलो हाफमा नेपालले अधिकांश समय आफ्नो रक्षापंक्तिमै बिताएकाे थियाे ।

नेपालले यसअघि दुई खेलमध्ये एकमा जित र अर्कोमा बराबरी गरेको थियो । छनोटको आफ्नो पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा भने साउदी अरेबियाविरुद्ध १–० को कठिन जित निकालेको थियो ।

समूहको दोस्रो स्थानमा रहेको नेपालले तीन खेल खेल्दा चार अंक जोडेको छ । यता, नेपालसँगको जितसँगै उत्तर कोरियाले अपराजित रहँदै थाइल्यान्डमा हुने प्रतियोगितामा स्थान बनाएको छ । शीर्ष स्थानमा आसिन उत्तर कोरियाले तीन खेल खेल्दा नौ अंक जोडेको छ ।

तालिकाको तेस्रो स्थानमा रहेको भुटानले दुई खेलबाट एक अंक जोडेको छ । पुछारमा रहेको साउदी दुई खेल खेल्दा पनि अंकविहीन छ ।

छनोटमा ८ समूहको विजेता सिधै छनोट हुनेछ भने उपविजेता हुने मध्ये उत्कृष्ट ३ टोली पनि अन्तिम चरणमा छनोट हुने प्रावधान छ । तर ५ वटा समूहमा दोस्रो हुने टिमको यसअघि नै ६ अंक भएकोले नेपालको उत्कृष्ट दोस्रो हुने सम्भावना पनि सकिएको छ ।